बाँझो जग्गा सदुपयोग गरी बाख्रापालन


गलकोट – बागलुङको ताराखोला गाउँपालिका-३ श्याम खर्क आसपासका ५८ घरमध्ये अधिकांशमा ताल्चा लागेको छ । बसाइँसराइको प्रभाव परेको उक्त गाउँमा पाँचरसात घरमा मात्रै बसोबास छ ।

उजाडिएको गाउँबाट अध्ययनका लागि विदेश जाने योजना बनाउनुभएका ३५ वर्षीय मेखबहादुर थापा अहिले बाख्रापालनमा लागेका छन् ।

श्यामखर्कमा बसाइँसराइका कारण धेरै जग्गा बाँझो छ । धवलागिरि क्याम्पसबाट दश जोड दुई उत्तीर्ण गरेका थापाले विदेशमा अध्यययन गर्ने सपना पूरा नभएपछि काठमाडौंस्थित टोखामा दुई वर्ष कुखुरापालन गरे । विसं २०७२ को भूकम्पपछि काठमाडौंको कुखुरापालन छोडेर उनी बाख्रापालन गर्न गाउँ फर्किएका हुन् । अहिले थापाले घुम्टे हिल पशुपन्छी फार्ममार्फत बाख्रापालन गरिरहेका छन् । अब उनको कुखुरापालन गर्ने योजना छ ।

‘गाउँको बाँझो जग्गा देखेर बाख्रा पाल्ने सोच बनाए’ थापाले भने, ‘गाउँमै केही गर्ने सोच पलायो ।’ बसाइँसराइले गाउँ नै उजाडिँदा बारी सबै बाँझो थियो । खेती गर्न धेरै जनशक्ति चाहिने भएपछि बाख्रापालनमा हात हालेको उनको भनाइ छ । अहिले उनी फार्म विस्तारमा लागेका छन् । अहिले थापाको फार्ममा सानाठूला गरेर १२५ बाख्रा र बोका छन् ।

प्रतिक्रिया