करीब १४ विगाहामा बुटवल खुलामञ्च निर्माण शुरू


बुटवल – बुटवलमा आधुनिक सुविधा सहितको व्यवस्थित खुलामञ्च निर्माणको काम शुरू भएको छ । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा करीब १४ विगाहा जग्गालाई संरक्षण गर्दै खुलामञ्च बनाउन लागिएको छ ।

बुटवल खुलामञ्चको मंगलवार एक समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरे । खुलामञ्च बन्ने क्षेत्रलाई समेटेर गुरुयोजना तयार पारी निर्माण कार्य अगाडि बढाइएको छ ।

गुरुयोजनामा प्राविधिक तथा विषय विज्ञबाट सुझाव समेत लिएर निर्माण कम्पनीलाई कार्यादेश दिइएको उपमहानगर प्रमुख सुवेदीले जानकारी दिए । जनघनत्व, सवारी चाँप र बाक्लो बस्तीका बीचमा रहेको खुला जग्गालाई संरक्षण पनि हुने र बहुउपयोग पनि हुने गरी गुरुयोजना तयार पारिएको प्रमुख सुवेदीले बताए ।

बुटवल खुलामञ्चलाई कार्यक्रम गर्न, सभा समारोह गर्न, सम्मेलन गर्न मात्र नभई विभिन्न आपतकालीन अवस्थाको उद्धारस्थलका रूपमा समेत उपयोग गर्न सकिने गरी गुरुयोजनामा समेटिएको छ ।

बुटवल खुलामञ्च निर्माणका लागि शिवशक्ति कन्सट्रक्सन कम्पनी प्रालिले ५ करोड ३२ लाख ३९ हजार ५१३ रुपैयाँ बराबरमा ठेक्का सम्झौता गरेको छ । गत फागुन २६ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई आगामी २०८० जेठ १५ गतेसम्ममा काम सक्ने सम्झौता भएको छ ।

यस्तो बन्नेछ बुटवल खुलामञ्च

करीब १४ विगाहा क्षेत्रफलमा खुलामञ्च बन्ने र त्यहाँ १ लाख जना एकैपटक जम्मा हुन मिल्ने गरी खुला मैदान बनाइनेछ । मैदानलाई विशेष तारजाली र हरियालीले सजाइने छ ।

मैदान प्रवेश र निकासका अलग–अलग द्वार र आपतकालीन द्वार बन्नेछन् । तारजाली पनि पर्यावरणमैत्री र विशेष हुनेछ । खुलामञ्चसम्म पुग्न धेरैतिरबाट पहुँच मार्ग बन्नेछन् । बुटवल चक्रपथले समेत खुलामञ्चलाई जोड्ने छ ।

एकैपटक करीब ८०० जनाले प्रयोग गर्न मिल्ने गरी सार्वजनिक शौचालय बनाइने छन् । ८ लाख ९३ हजार ९७७ वर्गमिटर क्षेत्रफलमा खुलामञ्च र बाँकी क्षेत्रमा विशेष मञ्च, मञ्चसँगै पछाडि भागमा ८ वटा अलग–अलग प्रयोजनका कोठा, ३ तहका पार्किङ, प्राथमिक उपचार कक्ष बन्नेछन् ।

प्रतिक्रिया