दशरथ रङ्गशालाबारे एएफसीकाे प्रश्न, के अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने छ ?


काठमाडौं- नेपालको अन्तर्राष्ट्रिय खेल खेलाउने एक मात्र रंगशालामा अब अन्तर्राष्ट्रिय खेल आयोजना नहुने सम्भावना बढेको छ। त्रिपुरेश्वरस्थित नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब त्यो हैसियत पनि गुमाउने सम्भावना बढेकाे हाे ।

गत साता  एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको निरीक्षणपछि तीन विषयमा प्रश्न उठाएकाे छ ।  विश्व फुटबल महासंघ (फिफा) र एएफसीले दशरथ रंगशालाको मैदान, फ्लडलाइट र सुरक्षासम्बन्धी तीन विषयमा  प्रश्न उठाएको एन्फाले जनाएकाे छ ।

नेपालले जेठ २० गते यूएईसँग घरेलु मैदानमा खेल्ने खेलतालिका रहेको छ ।  यो समस्याबाट हल ननिस्केमा फिफा विश्वकपअन्तर्गत अर्को छनोट खेल पनि नेपालमा हुने छैन ।  गत चैतमा पनि दशरथ रंगशालाको मैदानलाई लिएर समस्या उत्पन्न भएपछि नेपालले बहराइनमा गएर खेल्नुपरेको थियो ।

यस विषयमा छलफलका लागि खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रालयमा सरोकारवालाको बैठक बोलाएका छन् ।  छलफलमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारीलाई बोलाइएको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया