बेरोजगारीका कारण दुलही नपाएपछि नेपाल आउँछन् भारतका युवा


बैतडी- भारतको पिथौरागढका बेरोजगार युवा आफ्नै देशमा दुलही पाउन कठिन भएपछि विवाहका लागि नेपाल आउन थालेका छन्।

बेरोजगारीका कारण आफ्नै देशमा दुलही पाउन नसक्दा नेपाल आउने भारतीय युवाको सङ्ख्या बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पिथौरागढका महेन्द्र सिंहले छोराको विवाहका लागि कैयौँ गाउँ घुमे । तर पनि जागिर नभएकाले कसैले छोरी दिन नमानेकाले बैतडीबाट छोराको विवाह गर्नुपरेको उनले बताए ।

पिथौरागढकी विमला देवीले पनि बेरोजगार छोरालाई भारतमा कसैले दुलही दिन नमानेका कारण बैतडी र दार्चुला पुगेको सुनाइन् ।

पिथौरागढका सञ्चारकर्मी सुरेन्द्र आर्यले नेपाल-भारतबीच रोटीबेटीको पुरानो सम्बन्ध भए पनि केही वर्षयता यस्तो सम्बन्ध घटेको थियो । कोरोनापछि पुनः नेपाल–भारतबीचका सीमान्तकृत गाउँमा विवाह बढेको उनले बताए ।

नेपालको गरिबी र भारतीय युवाको बेरोजगारीले अन्तरदेशीय वैवाहिक सम्बन्ध बढ्न थालेको सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

भारतमा खाद्यान्न, शिक्षा, स्वास्थ्य सर्वसुलभ भएकाले  छोरीको भविष्य राम्रो होला भनेर भारतीय बेरोजगारलाई पनि छोरी दिएर पठाइने गरेकाे स्थानीय बताउँछन् ।

 

 

प्रतिक्रिया