

प्राधिकरणका कर्मचारीले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले आगामी साउनपछि स्वेच्छिक अवकाश लिन नपाउने भएका छन् ।
प्राधिकरणले स्वेच्छिक अवकाश सम्बन्धी व्यवस्था खारेज गरेको छ । कुनै कर्मचारीले अहिले नै अवकाश लिन चाहेमा आगामी असार मसान्तसम्म निवेदन दिइसक्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरण सञ्चालक समितिको गत पुस २१ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
‘नेपाल विद्युत् प्राधिकरण सेवा, सर्त विनियमावली २०७५ को विनियम १०० मा भएको स्वेच्छिक अवकाशसम्बन्धी व्यवस्था २०७९ साउन १ गतेबाट खारेज गर्ने निर्णय भएको छ,’ प्राधिकरणले आइतबार जारी गरेको सूचनामा भनिएको छ, ‘विनियमावलीमा तोकिएको सर्त पुरा गरेका स्वेच्छिक अवकाशका लागि इच्छुक कर्मचारीले आवश्यक प्रक्रिया पुर्याई २०७९ असार मसान्तभित्र निवेदन दिइसक्नुपर्नेछ ।’

