‘भाइरल’ मन्त्री आलेले किने ८ कट्ठा सरकारी जग्गा !


कैलाली – संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले सरकारी जग्गा खरिद गरेका छन् । मन्त्री आलेले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा ८ कट्ठा सरकारी जग्गा खरिद गरेको स्रोतले दाबी गरेको छ ।

मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका दलबहादुर मगरले बताए । मन्त्रीलाई आफूले नै जग्गा बिक्री गरेको पनि मगरले जनाएका छन् । उनले मन्त्री आलेका नाममा कागजपत्र गरेर जग्गा कारोबार भएको बताए । जग्गाका बारेमा कुरा गर्न मन्त्री आले आफैँ हाटखोली पुगेको बताइएको छ ।

तर, सरकारी र सार्वजनिक जग्गाको कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ । ऐलानी र पर्ती जग्गाको कारोबार गर्नु कानूनी रुपमा अबैध मानिन्छ । मुलुकी देवानी संहिताको परिच्छद ५ को २९९ को (ङ) मा नहर, कुलो वा ऐलानी, पर्ती जग्गालाई पनि सरकारी जग्गा भनिएको छ । सोही परिच्छेदको ३००.(२) मा सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहने उल्लेख छ ।

मन्त्री आलेका स्वकिय सचिव हेमन्त रेग्मीले भने यो बदनाम गर्न खोजिएको र हल्ला निराधार भएको बताएका छन् । मन्त्री आले वर्तमान सरकारमा रहेर पछिल्लोपटक नारायणहिटीमा क्याफे, पशुपति धर्मशाला लगायतका विषयलाई उछालेर चर्चामा देखिएका एकाएक मिडियामा चर्चाकापा पात्र बनेका छन् ।

प्रतिक्रिया