

लगातारको हिमपात र झरीका कारण जनजीवन कष्टकर

मङ्गलबारे – लगातारको हिमपात र झरीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गएका वर्ष भन्दा यस पटक धेरै पटक हिउँ परेको छ ।
इलामका उच्च पहाडी क्षेत्रमा यस वर्ष पटक–पटक हिउँ झरेपछि सो क्षेत्रका बासिन्दाको जनजीवन कष्टकर बनेको हो । चिसोका कारण विशेष गरेर घर बाहिरको काम गर्न मुस्किल भएको छ ।
मङ्गलबार साँझबाट हिउँ झरेपछि उच्च पहाडी क्षेत्रका बासिन्दालाई समस्या भएको हो । यस पटक विगत भन्दा निकै तलसम्म हिउँ परेको स्थानीयवासीको भनाइ छ ।
यस पटक भने जिल्लाको माइजोगमाई गाउँपालिकाको नयाँ बजारसम्म हिउँ परेको छ । सदरमुकामलगायत तल्लो क्षेत्रका मानिसलाई हिउँमा खेल्न रमाइलो हुने भए पनि माथिल्लो क्षेत्रका बासिन्दाले कष्टकर जीवन बिताउनु परेको माइजोगमाई गाउँपालिका नयाँ बजारकी निर्मला बस्नेतले बताइन् ।
यस पटक नयाँ बजारसम्म हिउँ परेको उनले बताइन् । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, मेग्मालगायतका स्थानमा यसअघि पनि पटक–पटक हिउँ झरेको भए पनि नयाँ बजारसम्म हिउँ परेपछि चिसो बढेको स्थानीयवासीको भनाइ छ ।
यस पटक धेरै तल अर्थात् माइमझुवा, टप्पु, नयाँ बजारलगायत धेरै तलसम्म हिमपात भएको छ । त्यस्तै राति जिल्लाका धेरै स्थानमा पानी समेत परेको छ । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमुकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । जाडो बढेपछि विशेष गरेर बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।
हिउँ परेको स्थानमा स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको छ । गाईबस्तुलाई घाँस लगाउन झनै समस्या भएको छ ।
लेकाली क्षेत्रमा यसबेला घर बाहिरको घाँस दाउरा काट्ने, आलु रोप्ने, मल बोक्ने लगायतका काम हुने गरेका छन् । तिनै काम गर्न नसकिने अवस्था आएको स्थानीयवासीको भनाइ छ ।

