ओली पक्षका सांसद बालुवाटारमा, अर्को स्टेपको तयारी यस्तो पनि छ


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सांसदहरू बालुवाटारमा पुगेका छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्था र १७ र २७ वैशाखका लागि घोषणा गरिएको चुनावका विषयमा ओलीले आफूनिकट सांसदहरूसँग छलफल गरेका हुन्।

ओलीलाई भोली हुने केन्द्रीय समितिको बैठकबाट अनुशासनको कारबाही गर्ने हिजोको स्थायी समिति बैठको प्रस्तावका विषयमा पनि छलफल चलेको उच्च स्रोतले जनाएको छ।

यसैबीच पर्ख र हेरको नीतिमा प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रक्रियालाई पनि कुरेका छन्। एकीकरणका बेला अध्यक्ष रहेको र आफू अनुपस्थित भएको बैठकले उनलाई कारबाहीका लागि गरेको सिफारिस अमान्य हुने ओलीको ठहर छ। केन्द्रीय समितिको बैठकमा बहुमतले कारबाही गरिए ओलीले पार्टी विभाजन गर्नेछन्। यो नै ओलीको अर्को स्टेप हुने बालुवाटार स्रोतले जनाएको छ।

‘अवैधानिक रुपमा कारबाही गरियो भने पार्टी विभाजनमा जान्छ, एमाले पार्टी ब्युँतिन सक्छ’, बालुवाटार उच्च स्रोतले भन्यो।

यता प्रचण्ड–नेपाल समूहले पनि बानेश्वरमा दिउँसो १ बजेका लागि आफूनिकट सांसदको भेला बोलाएका छन्। बदलिएको राजनीतिक परिवेशबारे छलफल गरी ओलीविरुद्धको रणनीतिका लागि सांसद भेला बोलाइएको हो।

प्रतिक्रिया