
पानी परीक्षणको क्रममा दुईजना इन्जिनियरको मृत्यु
काठमाडौँ – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ।
आइतबार दिउँसो ३ बजेतिर निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा दुई जना इन्जिनियरको मृत्यु भएको हो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीकाअनुसार सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा तीन जना गम्भीर घाइते भएका थिए।
दुर्घटनामा परी आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो।
उपचारका लागि हेलिकप्टरमार्फत ओखलढुङ्गा पुर्याइएका उनीहरूलाई मिसन अस्पतालले मृत घोषणा गरेको थियो। ‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा रहेछ,’ प्रजिअ शाहीले भने, ‘पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको बुझिएको छ।’
घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थाका उनको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।



कागजपत्र |
