

सर्वोच्चभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय : अध्यक्ष श्रेष्ठ

काठमाडौं – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दङ्गा प्रहरी हटाउन माग गरेको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीमाथि दमन गर्नका लागि अदालतभित्र सशस्त्र र प्रहरी राखिनु निन्दनीय भएको बताएका हुन् ।
आइतबार बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले भने, कानुन व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दङ्गा प्रहरी राखिएको छ । यो निन्दनीय छ । यसको अन्त्यका लागि हामीले सम्बन्धित निकायलाई अनुगमन गर्न आह्वान गर्छौँ ।
उनले बारको शान्तिपूर्ण विरोधमाथि भएको प्रहरी दमनको विरुद्ध आइतबार देशभरका अदालतमा आफूहरुले बहस पैरवी नगर्ने सर्कुलर पठाएको बताए । उनले भने, हामीसँग केबल कलम र कालो कोट छ तर, चोलेन्द्र शमशेरको निर्देशनमा गृह प्रशासनले प्रहरी पठाएर दमन गरेको छ ।
यस्तै, नेपाल बारले आइतबार पनि प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा धर्ना र प्रदर्शन गरेको छ ।
बारको अगुवाइमा कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराबाट निष्पक्ष न्याय सम्पादन हुन नसक्ने, भ्रष्ट्राचार भएको जनाउँदै उनको राजीनामा माग गर्दै आएका छन् ।

