मेडल लिने ५६ प्रहरी अधिकारीको कार्य सम्पादन मूल्याङ्कनमा दुई नम्बर काटिने!
काठमाडौं– संगठनभन्दा बाहिरबाट ‘पावर’ लगाएर संविधान दिवसका दिन मेडल लिने प्रहरी अधिकारीको कार्य सम्पादन मूल्यांकन (कासमू)को दुई नम्बर काटिने भएको छ।
प्रहरी प्रधान कार्यालयले यस्तो तयारीअनुसार ३ असोजमा मेडल पाउने ५६ अधिकारीको कासमूमा नम्बर काट्ने भएको छ। प्रहरी उच्च अधिकारीका अनुसार संगठनले सिफारिस गरेका मध्ये ७० जनाको मात्र कासमू नम्बर बढाइनेछ।
प्रहरीमा राज्यका तर्फबाट मेडल पाउँदा कासमू बढ्ने हुँदा विभिन्न अधिकारीहरूले नेता तथा मन्त्रीसँगको सम्बन्धका आधारमा सिफारिस गर्दै आएका थिए। संगठनभन्दा बाहिरबाट यसरी पावर लगाउने कामका कारण बेथिति भएको प्रहरी प्रधान कार्यालयको बुझाई छ।
एक अधिकारी भन्छन्,‘मेडलको गरिमा र संगठनको आचारलाई पालना गराउनका लागि कासमू नम्बर नकाटी नहुने अवस्था आयो, संगठन सुदृढिकरणका निम्ति यो उपयुक्त निर्णय हो।’
हालै मात्र १२६ जना प्रहरीले विभिन्न तहका मेडल पाएका थिए। १४० जनाको नाम गृह मन्त्रालयमा पठाएको प्रहरी प्रधान कार्यालयलाई ७० जनाले मात्र मेडल पाउने निर्णयसहितको पत्र प्राप्त भएको थियो।