करङ दुखे पनि कांग्रेस नेता पौडेलले आज पुल उद्घाटन गर्ने, मुठभेडको आशंका


काठमाडौं– बुधबार प्रहरीको धरपकडमा परेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँमा आज पुल उद्घाटन गर्ने भएका छन्।

प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार पौडेलले पुल उद्घाटन गर्नेछन्। प्रशासनले कुनै पनि प्रकारका धरपकड गरे यसको जवाफ दिने उनले बताइसकेका छन्। प्रहरीको लाठीका कारण आफ्नो करङ अझै दुखिरहेको पौडेलले बताएका थिए।

स्थानीय प्रशासनले भने पौडेल उद्घाटनको कार्यक्रममा गए मुठभेड हुन सक्ने आशंका गरेको छ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।

आज बिहान ११ बजेपछि उक्त पुल उद्घाटन गर्ने पौडेलले बताएका छन्। पौडेलमाथि प्रहरीले धरपकड गरेपछि कांग्रेस कार्यकर्ताले विरोध र प्रदर्शन गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउँदै ठाउँ ठाउँमा साँझ राँके जुलुस पनि निकालिएको थियो।

प्रतिक्रिया