हुण्डी कारोबारका आरोपी रु ३० लाखसहित पक्राउ
काठमाडौं – काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित फलफूल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद रु ३० लाख सात हजारसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे चौरी देउराली गाउँपालिका-३ घर भई सोही बजारको स्टल नं १८ मा फलफूल व्यवसाय गर्ने ३४ वर्षीय मीनप्रसाद गौतम र उक्त पसलमा काम गर्ने रमेश तिमिल्सेना रहेका छन् । गौतमले हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जाँच गर्ने क्रममा गौतमले हुण्डी कारोबारमा प्रयोग गरिएको उक्त नगद बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैबीच कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाइँको मास्क खोइ ?’ कार्यक्रमअन्तर्गत अहिलेसम्म १० लाख ६० हजार ७०८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाइँको मास्क खै रु’ अभियान गएको वैशाखदेखि चलाएको थियो । आजमात्रै चारहजार बढीलाई मास्क दिइएको छ ।