

कर्णाली नदीमा जीप खस्यो, आमा-बुवा बेपत्ता, तीन छोरा-छोरी घाइते

धनगढी – कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका-७ स्थित चिसापानी-सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।
कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार ब्याक गर्ने क्रममा जीप सडकबाट कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । जीपको नम्बर भने खुल्न सकेको छैन ।

