

एमाले नेता प्रभु साहविरुद्ध प्रहरीमा ठगीको उजुरी गर्ने दिपाको ‘उठबस’ बाबुरामसँग थियो!

काठमाडौं– पूर्वमन्त्री प्रभु साहविरुद्ध दिपा केसी कुँवरले २० लाख ठगीको उजुरी प्रहरीमा दिएकी छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरमा उनले ठाडो उजुरी दिएकी हुन्।
काठमाडौंकी दीपाले उजुरी दिएको प्रहरीले पुष्टि गरेको छ। उनको उजुरीमा रकम लेनदेनको ठोस प्रमाण भने उल्लेख गरिएको छैन। उनको उजुरीमा साहले आफूबाट ३० लाख ५० हजार लगेको तर १० लाख ५० हजार मात्र फिर्ता दिएको उल्लेख गरेकी छन्।
फिर्ता भएको रकम पनि तत्कालीन सहरी विकास सचिव रमेश सिंहमार्फत आफूले लिएको उजुरीमा उल्लेख छ। दीपाले मन्त्री साहलाई २०७४ को प्रतिनिधिसभा निर्वाचन ताका १० लाख ५० हजार र त्यसपछि २० लाख रुपैयाँ दिएको दाबी गरेकी छन्।
पछिल्लो पटक दिएको रकम आफ्नो छोरा दीपेश केसीलाई क्यानडा पठाउनका लागि साहलाई दिएको उनको दाबी छ। सर्लाहीका नगेन्द्र झाले क्यानडामा क्यासिनो चलाउने गरेकाले त्यहाँ जागिर लगाउन भनी रकम लिएको दिपाको जिकीर छ। दिपाले १९ असारमा साहले आफूमाथि हातपात गरेको पनि उल्लेख गरेकी छन्।
साहलाई आरोप लगाउने दिपाको राजनीतिक व्यक्तित्वसँग उठबस रहेको चर्चा पनि सतहमा आएका छन्। उनी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग निकट रहेको बताइएको छ। उनले भट्टराईसँग खिचेको तस्बिर पनि सतहमा आएका छन्।
भट्टराई माओवादीमा रहँदा नै दिपाको परिचय साहसँग भएको हुनसक्ने अनुमान गरिएको छ। साह त्यसबेला भट्टराई खेमामा उभिएका थिए। भट्टराईले माओवादी परित्याग गरी नयाँ शक्ति खोलेपछि भने साह त्यहाँ गएनन्। नेकपा विभाजनपछि साह नेकपा एमालेमा आवद्ध छन्। हालै मात्र पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सहरी विकास मन्त्री नियुक्त गरेका थिए।
माओवादीले पार्टीबाट हटाएपछि साहको मन्त्री पद स्वतः निलम्बन भएको थियो।

