

क्रियाशील सदस्यतामा अनियमिता गरेपछि केन्द्रीय नेताको दैलोमा राेइकराइ गर्दै क्षेत्रीय सभापति खत्री

बाँके – आगामी भदौमा १४ औं महाधिवेशनको घोषणा गरेको नेपाली कांग्रेसमा क्रियाशील सदस्यताका विषयमा छलफल चलिरहेको छ । यसै परिवेशमा नयाँ क्रियाशील सदस्यताको बिषयलाई लिएर बाँकेमा भाँडभैलो देखिएको छ ।
बाँके क्षेत्र नं. १ का सभापति माधबराम खत्रीले आफुले प्रतिनिधित्त्व गर्ने वडा राप्तिसोनारी वडा न १ मा क्रियाशील सदस्यताको वितरणमा भाँडभैलो गराएका हुन् ।
केन्द्रको निर्णय बमोजिम शतप्रतिशत क्रियाशील सदस्यता थप गरि वडाले सिफारिस गरेका १०६ नयाँ क्रियाशील सदस्यतालाई केन्द्रमा इन्ट्री गर्नु पर्नेमा क्षेत्रीय सभापतिले आफू निकटका ८२ क्रियाशील सदस्यता इन्ट्री गराएको र २४ सदस्यता फाराम गाएब गरिदिएका छ्न् ।
तेस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिको तयारी गरेका खत्रीले वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित हुने महसुस गरेपछी २४ नयाँ क्रियाशील फाराम गायब गराएको पाइएको छ । खत्रीको यस किसिमको कर्तुत सो वडामा मात्र नभई अन्य क्षेत्रका प्रायः सबै वडामा गरेको खबर प्राप्त भएको छ ।
दुई कार्यकाल क्षेत्रीय सभापति हुदाँ एउटा कार्यालयसमेत स्थापना गर्न नसकी सिंगो क्षेत्रको कांग्रेसलाई झोलाबाट चलाएको, चरम गुट बन्दी गरेको, कार्यकताको सुख दुखमा साथ दिन नसकेको, आर्थिक अनियमिता गरेको, स्थानिय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसग लेबि उठाइ रकमको दुरुपयोग गरेको हिसाब माग्दा अनावश्यक दबाब दिने केन्द्रिय नेतृत्वसँग अनावश्यक कुरा लगाउने गरेको, संविधान सभाका उम्मेदवार गजेन्द्र हमाल र नारायण सिग्देललाई सस्थागत अन्तर्घात गरेको, सामाजिक संघ सस्थाहरुको निर्वाचनमा अन्य पार्टीसगको आर्थिक लेनदेनमा आफ्ना उम्मेदवारलाई हराउने गरेको, दुई कार्यकालसम्म नेतृत्व गरे पनि पार्टी संगठनको हितमा हुने प्रशिक्षण, भातृ संस्थाहरुको सहि परिचालन गर्न नसकेको आदि कारणले गर्दा कार्यकर्ता पंक्तिमा व्यापक असन्तुष्टि देखिएको जनाइएको छ ।
त्यसैकारण आगामी कार्यकालका लागि आकांक्षी बनेका खत्रीले क्रियाशील सदस्यतामा नै धाँधली गरेको जनाइएको छ । केन्द्रको नीति निर्देशन बमोजिम नरैनापुर गाउँपालिका वडा न १,२,३ र ५ कोहलपुर नगरपालिका वडा न ८,१० र १२ नम्बर वडाले सिफारिस गरेका पालिका र प्रदेश समितिले निर्णय गरेका क्रियाशील नियतबस इन्ट्री छुटाएका छ्न् ।
त्यस्तै राप्तीसोनारी ६ मा किसान संघका क्षेत्रीय सभापति जुगलाल थारु र तरुण नेता अर्जुन बुढाथोकीको नाममा टिपेक्स लगाइ अन्य व्यक्तिको नाम थपेको पनि जनाइएको छ । खत्रीले स्थानिय प्रेसबाट करिब ४०० थान क्रियाशील फाराम छपाइ क्षेत्रभरी जथाभावी बितरण गरेका पनि स्रोतले जनाएको छ । आफ्नै सहोदर भाइ बिजय केसीलगायत परिवारका सदस्यहरु राप्तीसोनारी–१ मा पहिल्यै क्रियाशील सदस्य रहेकाहरुलाई समेत प्रतिनिधि ल्याउने योजनाका साथ फोरम लोकतान्त्रिकबाट नरैनापुरमा क्रियाशील सदस्यताको आवेदन दिएको समेत जनाइएको छ ।
खत्रीले नयाँ साथीहरुको नाममा जथाभावी क्रियाशील बाँडेको पार्टीमा बर्षौदेखी योगदान गरेका तरुण दल, ने.बि. संघका केन्द्रदेखि जिल्ला तहसम्ममा क्रियाशील कार्यकर्ताको समेत राजनीतिक भविष्य समाप्त गर्ने कामको क्षेत्रभरि भन्डाफोर भएपछी केन्द्रिय नेतृत्वले तुरुन्तै गल्ती सच्याउन निर्देशन दिएपछि खत्री केही दिनदेखि काठमाडौंमै रहेको जनाइएको छ ।
खत्रीले अहिले आफुबाट गल्ती भएकोमा माफी माग्दै केन्द्रिय नेताहरुको दैलो–दैलोमा पुगि आफुले गरेको गल्तीलाई केन्द्रवाट सच्याइदिन रोइकराई गर्दै हिँडेको जनाइएको छ ।
स्मरण रहोस् बाँके क्षेत्र न १ मा ७ औं क्षेत्रीय सभापतिको कार्यभार सम्हालेका माधबराम खत्रीको कार्यकालमा जस्तो भाँडभैलो यसअघि कहिल्यै पनि देखिएको थिएन । कांग्रेसका पुराना र त्यागी अग्रज नेताहरु यसखाले गतिविधिबाट निरास र निष्क्रिय रहनुपरेको दुखेसो ब्यक्त गर्दछन् भने पार्टी संगठनमा ठूलो क्षति पुगेको छ । कांग्रेसको केन्द्रीय नेतृत्वले बेलैमा क्षेत्रीय सभापति खत्रीले गरेका संगठन कमजोर र पार्टीलाई परिवारबादमा लैजान खोज्ने गतिबिधीलाई लगाम लगाउन सकेन भने पार्टिले ठूलो मूल्य चुकाउने निश्चित रहेको कांग्रेसका सक्रिय कार्यकर्ताहरु बताउँछन् ।

