बंगाल खाडीबाट नेपाल प्रवेश गर्‍याे मनसुन, आज चार प्रदेशमा भारी बर्षाको सम्भावना

यो मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान


काठमाडौं – बंगालको खाडी आसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट मनसुन आगमन शुरु भएको मौसमविदले बताएका छन् । ‘बंगाल खाडीआसपास विकसित हुने क्रममा रहेको न्यून चापीय क्षेत्रका कारण नेपालको पूर्वी भू–भागबाट एक–दुई दिनमा मनसुन आगमन हुने सम्भावना छ,’ मौसमविद गंगा नगरकोटीले भनिन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा सरदरभन्दा बढी पानी पर्ने आँकलन सार्वजनिक गरिसकेको छ । यो चेतावनीसँगै थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले विहान देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–२, वागमती प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैबीच काठमाडौंमा आज दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटी बताउँछिन् । उनका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहने छ ।

विगतको तथ्याङ्क विश्लेषण आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट १ लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

प्रतिक्रिया