

प्रधानमन्त्रीज्यू ! आफ्ना उपप्रधानमन्त्रीलाई ‘लगाम’ लगाउनुहोस्: नेता भट्टराई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना उपप्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘लगाम’ लगाउन एमाले नेता योगेश भट्टराईले अनुरोध गरेका छन् । उपप्रधानमन्त्रीमा नियुक्त भएको केही बेरपछि आएको अभिव्यक्तिलाई लक्षित गर्दै नेता भट्टराईले भर्खरै नियुक्त उपप्रधानमन्त्रीले बहुराष्ट्रिय राज्यको बहसबारे दिइएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘पहिलो र दोश्रो संबिधानसभा मै असान्दर्भिक भैइसकेको बहु राष्ट्रिय राज्यको बहस आज नियुक्त भएका उपप्रधानमन्त्री पुन उठाएछन । संकेत राम्रो छैन । देशलाई फेरी द्वन्द्व तिर फर्काउने यस्ता अभिब्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यु ।’
भट्टराईले नेपालको संविधानमा उल्लेख भएको कुरालाई उल्लेख गर्दै संविधानले नै राष्ट्रको परिभाषा दिएको बताएका छन् । उनले लेखेका छन्, ‘संबिधानको धारा ३ ले राष्ट्रको परिभासा यसरी गरेको छ “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायु भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।” अर्थात बिबिधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो ।’

