निषेधाज्ञामा ‘सेटिङ मिटिङ’का लागि फाइभस्टार होटेल धाउँदै महानगर कर्मचारी


काठमाडौं – काठमाडौं महानगरपालिकाका कोरोना महामारीको समयमा विभिन्न निर्माणसम्बन्धी टेन्डर निकालि अनियमितता गरिएको जनाइएको छ । कोभिड महामारीका कारण अस्तव्यस्त बनिरहेको यस परिवेशमा महानगरमा सीमित कर्मचारीले कुनियतका साथ काम गर्दै टेन्डर निकालिरहेको जनाइएको छ ।

उपत्यकाको भौतिक संरचना र विकास निर्माणको क्षेत्र हेर्ने सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाको बदनियतका कारण महामारीका समयमा पनि निर्माणका लागि टेण्डर निकालिरहेको जनाइएको छ । थापाले भौतिक संरचना निर्माणका लागि सीमित व्यवसायीसँग पाँचतारे होटलहरुमा सेटिङ गर्दै हिँडेको स्रोतले जनाएको छ ।

केही निर्माण कम्पनीहरुसँगको सेटिङका कारण महानगरपालिका भवन निर्माणका लागि सीमित कम्पनीहरुको दायरा पुग्नेगरी सूचना निकालिएको पनि जनाइएको छ । थापाले पछिल्लो समय शर्मा कन्स्ट्रक्सन, टुण्डी कन्स्ट्रक्सन र रसुवा कन्स्ट्रक्सनलाई मिल्ने गरी मात्र टेण्डर निकालिरहेको स्रोतले जनाएको छ ।

महानगरको भवन निर्माणका लागि ६० करोड रकम छुट्याएको महानगरपालिकामा नगरप्रमुखलाई थाहा नदिई थापाले ती कम्पनीसँग डील गर्दै हिँडेको पनि महानगरका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा बताउँछन् । उनले भन्छन्, ‘विभागको प्रमुख उहाँ नै हो, उहाँले के के गर्नुहुन्छ के–के ? निषेधाज्ञाको समयमा पनि फाइभस्टार उहाँहरुकै लागि खुल्दो रहेछ कि क्या हो कुन्नि ?’

पछिल्ला दिनमा थापाले निषेधाज्ञा भए पनि घरमा बस्न नपाएको बताउँदै समाजिक सञ्जालमा विकास निर्माणको निरिक्षणमा आफू व्यस्त भएको बताए पनि उनी आर्थिक वर्षको अन्त्य भएर ‘उठौतीमा’ लागेको स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवासायी महासंघले यस महामारीको समयमा सरकारको निर्देशनको पालना गर्दै आफूहरुले काम सुरु गर्न वा सुचारु गर्न नसकिरहेको यस परिवेशमा नयाँ निर्माणका लागि टेण्डरहरु ननिकाल्न अनुरोध गर्दै जानकारी समेत गराइसकेको यस परिवेशमा आर्थिक वर्षको अन्त्यको बहानामा विभिन्न टेण्डरहरु निकालिएको जनाइएको छ ।

 

प्रतिक्रिया