

युवा संघको अध्यक्षमा पौडेल

काठमाडौं – नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।
संघको सोमबार भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए । संघका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा संघमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले सोमबारको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । संघमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए ।

