

बान अध्यक्ष चन्द्र न्यौपानेको निधन

इटहरी– ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। कोभिडका कारण बिरामी भएका न्यौपानेको मोरङ बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा न्यौपानेको निधन भएको हो ।
इटहरी ४ निवासी न्यौपानेको आज बिहान ८ः२५ बजे निधन भएको सप्तकोसी एफएमका समाचार प्रमुख लिलाराज भट्टराईले जानकारी दिए । उनको निधनको पुष्टि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत न्यौपानेको निधन भएको जानकारी दिइन्।
नेकपा एमाले प्रचार विभागका सदस्य समेत रहेका न्यौपाने इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक र स्टेशन म्यानेजर पनि थिए। नेपाल विज्ञापन बोर्डको सदस्यका रुपमा पनि न्यौपाने सक्रिय रहेका थिए । यसका अतिरिक्त न्यौपाने एमालेका सुनसरी जिल्ला सदस्य समेत थिए।
५० वर्षीय न्यौपानेलाई मुटुको समस्या देखिएपछि वैशाख २८ गते राति ८ः३० बजे उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।

