
विकल्पहरूबीच कांग्रेसको वैधानिकता समाप्त हुने ‘सम्भावना’
काठमाडौं– विधान संशोधन गरी अन्तिम पटक ७ देखि १८ भदौमा महाधिवेशनको मिति तय गरेको नेपाली कांग्रेसको वैधानिकतालाई राष्ट्रिय राजनीतिले प्रभावित बनाउने भएको छ।
प्रतिनिधि सभा विघटन भएको अवस्थामा त्यसको पुनःस्थापना भए या नभए पनि कांग्रेसको वैधानिकता समाप्त हुन सक्ने संकेत देखा परेका छन्। महाधिवेशनका लागि कांग्रेसलाई अब संविधान संशोधन गरी दलसम्बन्धी धारा परिवर्तन अनिवार्य हुन्छ।
यस्तो अवस्थामा कसरी रहला वैधानिकता?
हालै मात्र भएको एउटा सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस जस्तो पुरानो पार्टीको वैधानिकता जोगाउनका निम्ति संविधान संशोधन गरिने आश्वासन सभापति शेरबहादुर देउवालाई दिएका थिए।
तर घटनाक्रमले प्रतिनिधि सभा विघटन गरायो र त्यसको पुनःस्थापना तथा देउवालाई प्रधानमन्त्री मागसहितको रिट अहिले सर्वोच्च अदालतमा दर्ता भएको छ।
कांग्रेसप्रति ओली पहिला जस्तो नरम पनि देखिएका छैनन्।
संसद पुनःस्थापना भए देउवा प्रधानमन्त्री हुनेछन्। रिट हाल्ने सांसद संख्याका आधारमा उनले विश्वासको मत पनि प्राप्त गर्ने सम्भावना देखिन्छ, सर्वोच्च दाहिना भए। तैपनि संविधान संशोधन गरी महाधिवेशन मिति तय होला?
भदौसम्ममा कोरोना भाइरसको महामारी साम्य हुने संकेत मिलेको छैन। यो महामारी साम्य भएको खण्डमा कांग्रेसले महाधिवेशन गर्न सक्नेछ। तर, सभापति देउवा आफैं महाधिवेशन सार्ने मुडमा छन्।
‘ओलीको सहयोगबिना संविधान संशोधन हुने अवस्था छैन। अहिले प्रतिनिधि सभा पुनःस्थापना भए पनि उक्त प्रस्ताव पारित नगर्नका लागि ओली र जसपाको महन्थ ठाकुर समूह तयार भएन भने?’, उच्च स्रोतले भन्यो,‘कांग्रेसको वैधानिकता सकिनेछ र उसले नयाँ पार्टी दर्ता गर्नुपर्ने हुन सक्छ।’
प्रतिनिधि सभा पुनःस्थापना नभएको खण्डमा पनि संविधान संशोधन कसरी हुन सक्ला? कांग्रेसका लागि ओलीले अध्यादेशमार्फत धारा संशोधन गरी वैधानिकता जोगाइदिन सक्छन्। तर कांग्रेस आफैं सत्तामा आए अध्यादेशमार्फत जोगिने सक्ने सम्भावना त छ नि? भन्ने प्रश्नमा स्रोतले भन्यो,‘उसले अहिले अनेक अध्यादेशको विरोध गरिरहेको छ। स्वार्थका लागि ल्याएको भनेको छ। त्यसबेला उसको स्वार्थका लागि आउने अध्यादेशमाथि नैतिक प्रश्न उठ्न सक्छ।’



कागजपत्र |
