काेरोनाविरूद्ध आँफैं ५० हजार खोप खरिद गर्ने तयारीमा रामपुर नगरपालिका


पाल्पा – पाल्पा जिल्लाको रामपुर नगरपालिकाले कोरोनाविरुद्धको खोप किन्ने प्रक्रिया सुरु गरेको छ । नगरपालिका प्रमुख रमणबहादुर थापाले नगरपालिकाले आफैंले महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दिएका छन् ।

सरकारले खोप उपलब्ध गराउन समय लागेपछि भारतबाट आफैंले समन्वय गरेर खोप ल्याउन स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग भेटेर अनुमति मागेको थापाले बताए ।

‘रामपुर नगरपालिकाले आफ्ना सम्पूर्ण नागरिकलाई कोभिड–१९ विरुद्धको खोप चाहेका छौं । यसका लागि यसअघि नेपाल सरकारले खरिद गरेको मूल्य र मापदण्डअनुसार ५० हजार डोज खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागेका छौं,’ मेयर थापाले भने, ‘स्वास्थ्यमन्त्रीज्यूलाई भेटेर निवेदन दिएका छौं । उहाँ सकारात्मक हुनुहुन्छ ।’

मेयर थापाले भारतीय गृहमन्त्री अमित शाहको सचिवालयमा रहेका सन्दीप राना रामपुरकै स्थानीय भएकोले उनीसँग समन्वय गरेर खोप खरिद गर्न अनुमति मागेको बताए ।

अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत रहेका सन्दीपसँगको समन्वयमै खोप खरिदको प्रक्रिया अगाडि बढाइएको र खर्चको प्रवन्ध पनि पालिकाले नै गर्ने मेयर थापाको भनाइ छ । उनले भने, ‘कि संघीय सरकारले समयमै उपलब्ध गराइदिनुपर्‍यो, होइन भने हामी नै खरिद गर्छौं अनुमति दिनुपर्‍यो ।’

प्रतिक्रिया