प्रधानमन्त्री र राष्ट्रपतिकाे कदमलाई नागरिक अगुवाहरुले दिए प्रतिगमनको संज्ञा


काठमाडौँ – प्रधानमन्त्री र राष्ट्रपतिको संसद विघटन र मध्यावधि चुनावको घोषणा गर्ने कदमलाई दश जना नागरिक अगुवाले प्रतिगमनको संज्ञा दिएका छन्। उनीहरुले संसद् विघटन गर्ने पाइलाको प्रतिकार गर्न अपिल गरेका छन् । उनीहरुले शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले निरङ्कुशतन्त्रको आकांक्षालाई प्रतिकार गर्न सबैमा अपिलसमेत गरेका छन्।

शनिबार नागरिक अगुवाहरु अरूणा उप्रेती,कृष्ण प्रसाद पोडैल,पिताम्बर शर्मा,विन्दु शर्मा,महेश मास्के,सुदिप श्रेष्ठ,हरि रोकालगायतले एक विज्ञप्ति जारी गर्दै संसद्को विघटन गर्ने पाइलाको प्रतिकार गर्न र पहिले जस्तै ऐक्यबद्ध भई आ–आफ्नो क्षेत्रबाट योगदान दिन उनीहरुले अपील गरेका हुन् ।

संविधान र संसद्को सर्वोच्चताको चिर-हरणको दुराग्रही प्रयत्नमा संलग्न हरेक व्यक्ति र समूहलाई कानुनी र राजनीतिक तवरले दण्डित गर्नु आवश्यक भएको उनीहरुले बताएका छन् ।

उनीहरुले चार महिनाको अन्तरालमा प्रधानमन्त्री केपी ओलीबाट जेठ ७ गते गरिएको प्रतिनिधिसभा को दोस्रो विघटन त्यति बेला गरिएको प्रतिगमन पुस ५ कै पुनरावृत्ति रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘धारा ७६ को उपधारा ४ अनुरुप अल्पमतको सरकारले बहुमतसिद्द गर्नुपर्ने बाध्यकारी बुँदालाई वेवास्ता गर्दै र राजीनामा पनि नदिई धारा ५ मा लैजाने उपक्रम , राष्ट्रपतिबाट कुनै एक सांसदको नेतृत्वमा बहुमतको सरकार बनाउन मात्र २१ घण्टाको म्याद दिइनु, र आफ्नो पक्षमा बहुमतको दाबी गरेका दुई समुहको हस्ताक्षरको यथार्थ जाँच गर्ने अवसर नदिई दुवै पक्ष को दाबी नपुगेकोू निर्णय गरिनु र मध्यरातमा प्रधानमन्त्री ओलीले संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टा मै संसद् विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम हुन् ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको दोस्रो लहरले पैदा गरेको जनस्वास्थ्य संकट र असह्य पीडासँग जुधिरहेको बेला त्यसबाट आम जनताको प्राण रक्षा गर्नुको सट्टा, राजनीतिक संकट उत्पन्न गरेर जनतालाइ प्रतिरोधको लागि सडकमा ओर्लिन बाध्य गरिएको विज्ञप्तिमा उल्लेख छ । कोभिड प्रकोपको भयावह परिवेशमा निरंकुशताको पटकपटक अभ्यास गरिएको र संविधान र जनताको प्रतिनिधित्व गर्ने सार्वभौम संसद्माथि पटक पटक प्रहर भइरहेको उनीहरुले बताएका छन् ।

संसदको विघटनबाट उत्पन्न राजनैतिक संकटले मुलुकलाई पुनः राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यले अन्तर्राष्ट्रिय समदायमा नेपाललाई अत्यन्त लज्जित समेत बनाएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया