राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान आज, अहिले बिहान ९ बजेदेखि मतदान सुरू


काठमाडौं – वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा अहिले बिहान ९ बजे मतदान सुरू हुँदैछ । अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ ।

आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहितानुसार यही जेठ ३ गते राति १२ बजेपछि मौनअवधि शुरु भइसकेको छ ।

निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ ।

निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पुर्‍याउन आयोगले सबैमा आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ ।

हेटौँडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ ।

प्रतिक्रिया