

त्रिपक्षीयको पहलबाट थप ३५ हजार अक्सिजन सिलिन्डर नेपाल भित्रिने तयारी

काठमाडौं – कोभिड-१९ संक्रमितलाई अक्सिजन सिलिन्डरको अभाव भएसँगै सरकारले चीनबाट २० हजार, निजी क्षेत्रले ९ हजार ८ सय ५० र विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले करिब ५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् ।
सरकार, निजी क्षेत्र र विभिन्न देशमा बसेका नेपालीले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउन लागेका हुन् । नयाँ भेरियन्टसहितको कोरोना महामारीसँगै अहिले अस्पतालमा अक्सिजन अभाव छ । यो अभाव टार्न निजी क्षेत्रले पनि सिलिन्डर खरिद गरेर सरकारलाई साथ दिइरहेका छन् ।
स्वास्थ्य मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले चीनबाट १ हजार ३ सय अक्सिजन सिलिन्डर ल्याइसकेको र अब बाँकी रहेको १८ हजार ७ सय अक्सिजन सिलिन्डर पनि आउने क्रममा रहेको बताए ।

