देउवा, प्रचण्ड र उपेन्द्रको गलत मागले ओली फेरि प्रधानमन्त्री, नत्र यस्तो हुने थियो


काठमाडौं– विश्वासको मत मागेका दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले गरेको गलत अपिलले प्रधानमन्त्रीमा फेरि केपी शर्मा ओली नियुक्तिको बाटो खुलेको देखिएको छ।

ओलीले विश्वासको मत नपाउनासाथ कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष यादवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संविधानको धारा ७६(२) अनुसारको सरकार गठनको अपिल गरेका थिए।

तीन दिनको समयसीमा दिएर राष्ट्रपति भण्डारीले संविधानको सोही धाराअनुसार प्रधानमन्त्रीका लागि नाम माग गरेकी थिइन्। तर, विपक्षी गठबन्धनले नाम दिन सकेन।

एक जना संविधानविदका अनुसार सो दिन विपक्षी गठबन्धनले आफ्नो पक्षमा बहुमत पुग्ने अवस्थामा शंका रहँदा र ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नै चाहेको भए संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि माग गर्नुपर्ने थियो।

‘यीनिहरूले अपिल जारी गर्नासाथ फँसे भन्ने लागेको थियो। जब जसपा विभाजित भइसकेको थियो र बहुमत आफू पक्षमा थिएन भने प्रधानमन्त्रीमा दाबी गर्नका लागि संविधानको धारा ७६(५)अनुसारको माग हुनुपर्ने थियो’, उनले भने।

त्यसो हुँदा राष्ट्रपति भण्डारीलाई सोही धाराअनुसार प्रधानमन्त्रीका लागि आह्वान गर्न बाध्य पार्ने थियो। उनी अगाडि भन्छन्,‘ओली धारा ७६(३)मा कामचलाऊ भइसकेका थिए। अब पछाडि फर्किने होइन, अगाडि बढ्ने कामचाहिँ गर्नुपर्ने थियो।’

अब ओलीले नै प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव गराउने ति संविधानविदको प्रक्षेपण छ। ‘जसपा तटस्थ बस्छ। अब नैतिक रुपमा कांग्रेस र माओवादीले समर्थन गर्न सक्तैनन्। न विश्वासको मत दिनेछन्। देश ७६ (४), (५) हुँदै चुनाव घोषणा हुन्छ।’

विपक्षी गठबन्धनले अर्को धाराअनुसार प्रधानमन्त्रीका लागि अपिल गरेको भए सोही सरकारले नै चुनाव गराउन सक्ने प्रक्षेपण गरेका उनी भन्छन्,‘त्यसबेला देउवा या अरु कोही प्रधानमन्त्री हुने थिए। ओलीको नेतृत्वमा सरकार त बन्ने थिएन र चुनाव पनि गराउने थिएनन्। अब अर्को विकल्प देखिँदैन।’

प्रतिक्रिया