कोरोना संक्रमित सांसदहरु पनि मतदानममा सहभागी हुन पाउने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन भोलि सोमबार बोलाइएको छ । संसद अधिवेशनअघि गरिएको परीक्षणमा २६ भन्दा बढी सांसदलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण भएका सांसदहरुलाई बाहिर राख्ने र मतदानको बेला भित्र प्रवेश दिने र छुट्टै कोठामा मतदान गर्ने व्यवस्था मिलाउने निर्णय भएको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए । प्रतिनिधिसभाको बैठकमा पीसीआर टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएका सांसदले मात्र प्रवेश पाउनेछन् ।

हालसम्म ५० भन्दा बढी सांसदको परीक्षण गर्न बाँकी छ । उनीहरुको आइतबार नै स्वाब संकलन गरेर भोलिसम्म रिपोर्ट आउने व्यवस्था मिलाउने कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ ।

प्रतिक्रिया