

सात हजार शैया थपिँदैः कहाँ कति ?

काठमाडौं – सरकारले कोभिड-१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शैया थप गर्ने भएको छ । तीमध्ये काठमाडौँ उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शैया थप गरी सञ्चालनमा ल्याएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शय्या थप्न थालिएको जानकारी दिए । शैया गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ ।
केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शय्या पाउन समस्या भएको छ । उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शैया भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । आज मात्रै सात हजार २११ सङ्क्रमित भएको र २७ जनाको निधन भएको छ ।
उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शैया थप गरिने भएको छ ।
ती अस्पतालमा शय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शैया चाँडै बन्ने बताए ।
मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००- ५०० र जनमैत्री अस्पतालमा १२० शैया बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैया बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शैया छन् ।

