काठमाडौं उपत्यकाको निषेधाज्ञामा आजदेखि थप कडाइ गरिने


काठमाडौं – काठमाडौं उपत्यकामा बैशाख १६ गते देखि लगाएको निशेधाज्ञामा आज (आइतबार)देखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै जिल्ला प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो ।

कोरोना भाइरसको नयाँ भेरिउन्ड तिव्र रुपमा फैलिरहेको र यसले भयावह रुप लिन सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । पराजुलीसहित जिल्ला सुरक्षा समितिको टोलीले शनिबार काठमाडौंका विभिन्न‍ स्थानमा स्थलगत निरीक्षण गरेर निषेधाज्ञा कार्यान्वनको अवस्था जानकारी लिएको थियो ।

यसैबीच, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निषेधाज्ञाको समयमा सवारी चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाहरुका एक चौथाइ शाखाहरु मात्रै सञ्‍चालन गर्न दिने निर्णय गरेको छ। त्यसमा पनि एक चौथाइ कर्मचारी राख्‍नु पर्ने र त्यसको पनि सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

यस्तै, सरकारी कार्यालयमा पनि एक चौथाइ मात्रै कर्मचारी राखेर सञ्‍चालन गर्न भनिएको छ । त्यसैगरी शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि प्रमुख जिल्ला पराजुलीले अधिकारी बताए ।

 

प्रतिक्रिया