कोरोनाबाट कैलाली, कञ्चनपुर र ताप्लेजुङमा सातजनाको मत्यु


File Photo

काठमाडौं – पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर र ताप्लेजुङमा ७ जनाको कोरोना संक्रमितहरुको मृत्यु भएको छ। मृतकमध्ये ३ महिला र ४ पुरुष रहेका छन्।

कोरोनाका कारण कैलालीमा मृत्यु हुनेमा तीनैजना महिला रहेका छन्। जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिला, गोदावरी नगरपालिका–१ का २८ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको हो।

उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

त्यस्तै, कोरोनाको सङ्क्रमणबाट कञ्चनपुरमा गएराति तीन जनाको मृत्यु भएको छ। दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेशनमा मृत्यु भएको हो।

महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका–१४ का ४८ वर्षीया महिलाको मृत्यु भएको महाकाली अस्पतालका डाक्टर गोविन्द रोकायाले बताए।

यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होमआइसोलेशनमा मृत्यु भएको छ।

यसैबीच ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ। फुङ्लिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्तिमाया तुम्बाहाम्फे लिम्बूको गए राति मृत्यु भएको हो।

बिर्तासिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

प्रतिक्रिया