देवघाट स्नान गराई सीतारामको मूर्ति अयोध्यापुरी लगिँदै, आजै प्रतिस्थापन गरिँदै


चितवन – श्रीरामनवमीका अवसरमा चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिने भएको छ । प्रतिस्थापनका लागि राम–सीताको मूर्ति रथयात्रासहित त्यसतर्फ लागेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका ती मूर्तिको रथयात्रा टोलीलाई मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बिदाइ गरेका थिए ।

बिदाइपछि पशुपतिनाथ मन्दिरमा स्वस्तिवाचन र मन्त्रोच्चारणसहित पृथ्वी राजमार्ग हुँदै देवघाटतर्फ पठाइएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको नेतृत्वमा गएको रथयात्रा समूह बेलुकी देवघाट पुगेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । देवघाटमै बास बसेको रथयात्रा बिहान देवघाट स्नान गराइ नेपाली सेनाले चितवनको माडीसम्म लैजाने र त्यसपछि रथयात्रा गराइ अयोध्यापुरीमा प्रतिस्थापन गरिने जनाइएको छ ।

श्रीरामनवमीका दिन बुधबार बिहान गण्डकीमा स्नानसहित पूजा आराधना गरी चितवनको माडीस्थित अयोध्यापुरीतर्फ यात्रा अघि बढ्ने छ । बुधबार मध्याह्न १२ः३० बजे मूर्ति प्रतिस्थापन साइत रहेको उनले बताए । प्रतिस्थापनपछि पूजा आराधना, भजनकीर्तनलगायत कार्यक्रमसमेत राखिएको जनाइएको छ ।

यात्रामा संस्कृति मन्त्रालयका सचिव यादव कोइराला, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमलगायत कोषका पदाधिकारी सहभागी भएको जनाइएको छ । गत असारमा प्रधानमन्त्री ओलीले ‘रामको जन्मभूमि’ अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राख्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया