इतिहास बन्यो सतबाँझको डाँडामा लटरम्म फलेको स्याउ


बैतडी – बैतडीको दशरथचन्द नगरपालिका-१ मुस्याचौरका ६२ वर्षीय जयसिंह टेरलाई दशरथचन्द राजमार्गमा छेउमै रहेको सतबाँझको डाँडामा लटरम्म स्याउ फलेको दृष्य सम्झिँदा अहिले इतिहास जस्तै लाग्छ ।

स्याउका लागि प्रसिद्ध मानिने बैतडीको सतबाँझको लेकमा पछिल्लो दुई दशकयता भने स्याउ फल्न छोडेको छ । “माथि डाँडामा रहेका स्याउका रुखबाट फलेर सडकमा खसिराख्थे उनले भने, ‘सडकमा टन्न खसिराख्थे, पेटभरि खान्थ्यौँ अनि स्याउमै खेलेर रमाउथ्यौँ, अब ती दिन इतिहास भएको छ, आजभोली यहाँ चाख्नलाई पनि स्याउ पाइँदैन ।’

सतबाँझ क्षेत्र स्याउका लागि सुदूरपश्चिमकै प्रसिद्ध मानिन्थ्यो । टेरले भने, ‘एकै रुखमा एक क्विन्टलभन्दा बढी स्याउ फल्थ्यो, प्रतिकिलोको रु चार/पाँचमा बेचिन्थ्यो, तर अब ती दिनको सम्झाना मात्र भयो, सतबाँझको स्याउ त इतिहास नै बन्यो ।’

जयसिंह जस्तै गुरुखोलाका ५६ वर्षीय देवदत्त भट्टलाई पनि सतबाँझको स्याउको अहिले पनि सम्झना भइरहन्छ । ‘त्यो बेलाको जस्तो स्वादिलो स्याउ अहिले बजारमा कतै देखिँदैन, भट्टले भने, ‘अब कल्पना मात्रै गर्न सकिन्छ ।’

त्यो समयमा भर्खर सतबाँझ क्षेत्रमा खनिएको सडकमा चार पाङ्ग्रे गाडी चल्ने अवस्था नहुँदा यहाँ उत्पादन भएको स्याउ हेलिकप्टरमार्फत अन्यत्र ढुवानी हुने गरेको भट्टको भनाइ छ । उनले भने, ‘भर्खर सडक पुगेको थियो, यातायात सञ्चालन हुँदैनथ्यो, काठमाडौँ, धनगढी हेलिकप्टरमार्फत् स्याउ ढुवानी गर्ने गरिन्थ्यो ।’

अगुवा कृषकसमेत रहेका उनले थपे, ‘ कुनै दाना आधा केजीसम्म फल्थे, गाल्डेन जातको स्याउ राम्रो फल्थ्यो ।’ विद्यालय आउँदा जाँदा निर्माण हुँदै गरेको सडकमा खसेका स्याउका दाना टिपेर खाएको अनुभव स्थानीय रामबहादुर टेर सुनाउछन् । उनले भने, ‘लटरम्म फलिरहने स्याउ खसेर सडकसम्म पुग्थ्यो, पेटभर खान्थ्यौँ, अनि झोलाभरि घर लग्थ्यौँ ।’

तत्कालीन राजा महेन्द्रको पहलमा विसं २०१९ मा सतबाँझमा वागवानी विकास केन्द्रको स्थापना गरिएको थियो । त्यसपछि तत्कालीन राजा वीरेन्द्र पनि सतबाँझ क्षेत्रलाई प्राथमिकतामा राख्दै विसं २०३६ मा यस क्षेत्रको भ्रमण पनि गर्नु भएको थियो । सोही बेलादेखि यस केन्द्रमा हेलिकप्टर बस्नका लागि सहज होस् भनेर हेलिप्याडसमेत बनाइएको थियो ।

स्याउ फल्न छोडेपछि हाल सुख्खा फलफूल विकास केन्द्र भनेर यस क्षेत्रको नामकरण गरिएको छ । यहाँको २९ हेक्टर क्षेत्रफलको जग्गालाई सुख्खा फलफूल क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । वर्षेनी भइरहेको जलवायु परिवर्तनले पारेको असरसँगै र यो क्षेत्रको संरक्षण हुन नसक्दा स्याउ फल्न छोडेको जानकारहरुको भनाइ छ । जलवायु परिवर्तनको असरका कारण स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्का बताउछन् ।

स्याउको विकल्प खोजी

कुनै समय लटरम्म स्याउ फल्ने सतबाँझको फार्ममा अहिले पुरानो स्याउको बोट एउटा पनि छैन । स्याउ उत्पादनका लागि चिनिएको यो फार्ममा स्याउ फल्न छोडेपछि अहिले विभिन्न प्रजातिका फलफूलको खेती विस्तार गर्न थालिएको छ ।

वागवानी विकास केन्द्रबाट सुख्खा फलफूल विकास केन्द्र नाम राखेर काम थालिएपछि हाल स्याउको विकल्पको खोजीसमेत शुरु गरिएको हो । स्याउ फल्न छोडेपछि उत्पादन केन्द्रले स्याउको विकल्पमा सुख्खा फलफूलका बिरुवा लगाएको छ । केन्द्रले हाल स्याउको विकल्पमा ओखर नासपाति किबी, जैतुन, खुर्पानी, आरु, आरुबखाडा, सुन्तला, अमिलो, कागती अनारलगायतका बिरुवा उत्पादनसमेत गरिरहेको छ ।

केन्द्रको सीपले किसान आत्मनिर्भर बन्दै

सुख्खा फलफूल विकास केन्द्रले दिइरहेको सीपमूलक तालीमबाट किसानलाई आत्मनिर्भरतर्फ लैजान सहज भएको छ । केन्द्रले समय समयमा सीपमूलक तालीम प्रदान गर्नुका साथै निःशुल्करुपमा बिरुवासमेत उपलब्ध गराउने गरेको छ ।

केन्द्रबाट पाइएको सीपमूलक तालीमबाट नै आफू आत्मनिर्भर बन्न सफल भएको जेएम बहुउद्देश्यीय निजी नर्सरी तथा कृषि फार्मका सञ्चालक रामबहादुर टेर बताउछन् ।

प्रतिक्रिया