बालुवाटार बैठकमा माधव नेपालका खास पात्र, बोहराको अपिलले काम गरेन


काठमाडौं– नेकपा एमाले केन्द्रीय कमिटीको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा नेता माधवकुमार नेपाल पक्षका नेता विष्णु रिजाल पुगेका छन्।

एमाले एकताको आवाज बलियो बनाइरहेका उनी सोमबार अध्यक्ष ओलीले बोलाएको बैठकमा सहभागी हुन पुगेका हुन्। नेकपा रहँदा र एमाले ब्युँतिदा पनि उनी ओलीइतरको खेमामा थिए।

नेपाल पक्षले गरेका समानान्तर भेलालगायतका गतिविधिका प्रचार विभागका सह–संयोजक रहेका उनी एमाले प्रचार विभागमा थिए। पछिल्ला दिनमा उनी देशका प्रधानमन्त्रीका विरोधमा भएका कतिपय गतिविधिको आलोचना गरिरहेका छन् भने एमाले विभाजनमा नभई एकतामा जोड दिनेमा पर्छन्।

उनले पछिल्ला केही दिनमा माओवादी केन्द्रसँग एमालेको एकता हुन नसक्ने भन्दै गतिशिल पार्टीका लागि नेताहरु सहमतिमा आउनुपर्ने बताउँदै आएका थिए।

रिजाल नेता नेपालका खास मानिने गरेका थिए। उनी नेपाल प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए। रिजाललाई अर्थमन्त्री विष्णु पौडेल नजिक रहेका नेताका रुपमा पनि एमाले वृत्तमा चिनिने गरिएको छ।

उता नेपाल पक्षमा रहेका एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले प्रधानमन्त्री ओलीले डाकेको बैठक सहमतिअनुसारको नभएकाले सच्याउनका लागि आइतबार अपिल जारी गरेका थिए। तर एमालेले उक्त अपिललाई बेवास्ता गरेको छ।

प्रतिक्रिया