
भारतकाे ‘खान सर कोचिङ काण्ड’का आरोपी प्रिन्स कुमार विराटनगरको होटलमा मृत फेला
विराटनगर – भारतको बिहार राज्यमा भएको चर्चित हिंसात्मक घटनामा संलग्न रहेको आरोप लागेका तथा भारतीय प्रहरीको खोजी सूचीमा रहेका प्रिन्स कुमार यादव विराटनगरमा मृत फेला परेका छन्। उनी विराटनगर महानगरपालिका–१० स्थित शुभ होटलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रिन्स केही दिनदेखि उक्त होटलमा बस्दै आएका थिए। होटलमा दर्ता गराउँदा उनले बिरामीको उपचारका लागि नेपाल आएको विवरण उल्लेख गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतकसँगै अन्य भारतीय नागरिकहरू पनि सोही होटलमा बसिरहेका थिए। घटनापछि उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।
प्रिन्स कुमार यादव भारतको बिहारमा चर्चित बनेको ‘खान सर काण्ड’ का आरोपीमध्ये एक रहेको बताइएको छ। गत जुन २ मा बिहारको राजधानी पट्नामा रोशन आनन्दद्वारा सञ्चालित ज्ञान बिन्दु कोचिङ र खान ग्लोबल स्टडिजबीचको विवादले उग्र रूप लिँदा तोडफोड, झडप तथा गोली चल्ने घटना भएको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटनाको नेतृत्व प्रिन्स कुमार यादवले गरेको आरोप लगाइएको थियो। त्यसपछि भारतीय प्रहरीले उनीविरुद्ध मुद्दा दर्ता गरी खोजी तीव्र बनाएको थियो।
मोरङका प्रहरी प्रमुख एसपी कोवित कट्टुवालका अनुसार मुद्दा दर्ता भएपछि यादव नेपाल आएर विराटनगरको बसपार्क आसपास क्षेत्रमा बस्दै आएका थिए। उनी शनिबार राति होटलको कोठामा मृत फेला परेका हुन्।
प्रिन्स ज्ञान बिन्दु एकेडेमीका सञ्चालक रोशन आनन्दका भाइसमेत रहेको खुलेको छ। उनले संस्थाको प्रशासनिक तथा दैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएका थिए। खान ग्लोबल स्टडिजमा भएको आक्रमण तथा तोडफोड घटनापछि दर्ता भएको मुद्दामा उनको नाम पनि समावेश भएकाले भारतीय प्रहरीको खोजी सूचीमा रहेका थिए।
प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। मृतकसँगै आएका साथीहरूमाथि सोधपुछ भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी परिवारलाई शव बुझाउने तयारी भइरहेको एसपी कट्टुवालले जानकारी दिए।
घटनाबारे नेपाली र भारतीय सुरक्षा निकायबीच समेत समन्वय गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
