
संविधान संशोधन बहसमा सहभागी हुन जेनजीलाई कार्यदलको आग्रह
काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज हुने छलफललाई लिएर देखिएका अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।
कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको बताएका छन्। सोही उद्देश्यअनुसार जेन–जी प्रतिनिधिहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको उनले स्पष्ट पारे।
आज साँझ ५ बजे तय गरिएको छलफललाई लिएर केही जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि तथा बहिष्कारको संकेत गरेपछि संयोजक शाहले त्यसबारे धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेका छन् भने जेन–जी परिषद् निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। उनले संविधान संशोधनका लागि सुझाव संकलन गर्ने उद्देश्यले आयोजना गरिएको छलफललाई अन्य राजनीतिक विषयसँग नमिसाउन आग्रह गरेका छन्।
कार्यदलले जेन–जी प्रतिनिधिहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरिएको जनाएको छ। बोल्नका लागि समय कम दिइएको भन्ने प्रचारप्रति संकेत गर्दै संयोजक शाहले कसैको आवाजलाई बेवास्ता नगरिने विश्वास व्यक्त गरेका छन्।
उनले राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन सबै जेन–जी प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न सरोकारवालासँग छलफल सुरु गरेको थियो। हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको र आगामी दिनमा अन्य समूहसँग पनि छलफल गर्ने तयारी रहेको जनाइएको छ।
सरकारको १०० बुँदे कार्यसूचीअनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयताजस्ता विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको कार्यदलले जनाएको छ। विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन–जीहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ।



कागजपत्र |
