
मापसे गरेर रेलिङ ठोक्ने गोदावरीका मेयर भट्टबाट धनगढी उपमहानगरले ३५ हजार असुल्ने
धनगढी- मादक पदार्थ सेवन गरेर सरकारी गाडी चलाउँदा दुर्घटना गराएका गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ ।
शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत गेटा क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनाका क्रममा सडक छेउमा जडान गरिएको रेलिङमा क्षति पुगेको उपमहानगरपालिकाले जनाएको छ ।
क्षतिको मूल्यांकन गर्न खटिएका धनगढी उपमहानगरपालिकाका प्राविधिक टोलीले रेलिङ मर्मतका लागि करिब ३५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान निकालेको छ । सोही आधारमा उक्त रकम मेयर भट्टबाट असुल गर्ने प्रक्रिया अघि बढाइएको हो ।
उपमहानगरपालिकाले रकम बुझाउनका लागि कैलाली गाउँस्थित प्रहरी चौकीमा नगर प्रहरीसमेत पठाएको थियो । तर मेयर भट्टले वारेस पठाउँदै क्षतिग्रस्त रेलिङ आफैंले मर्मत गरिदिने प्रतिबद्धता जनाएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने व्यक्तिबाट क्षतिपूर्ति असुल गर्ने र मर्मतसम्भार गराउने अभ्यास निरन्तर गर्दै आएको जनाएको छ ।
शनिबार राति मदिरा सेवन गरेर लठ्ठ अवस्थामा गाडी चलाइरहेका बेला मेयर भट्टको गाडी दुर्घटनाग्रस्त भएपछि स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मापसे गरेर गाडी चलाएको अभियोगमा पाँच सय रुपैयाँ र लापरवाहीपूर्वक सवारी चलाएको थप पाँच सय रुपैयाँ गरी एक हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडेको जनाएको छ ।



कागजपत्र |
