
प्रतिनिधिसभामा ८ अध्यादेश प्रतिस्थापन विधेयक पेस
काठमाडौं- प्रतिनिधिसभामा बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेका ८ वटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गरिएको छ । सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा ती अध्यादेश प्रतिस्थापन विधेयकहरू पेस भएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले तीन वटा अध्यादेशका प्रतिस्थापन विधेयक पेस गरिन् । उनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ का प्रतिस्थापन विधेयक प्रस्तुत गरिन् ।
यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरे ।
कानुन मन्त्री गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पनि प्रतिनिधिसभामा पेस गरिन् ।
त्यसैगरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गरिन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ प्रतिनिधिसभामा पेस गरेका छन् ।
यी सबै अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक अब संसद्मा छलफलका लागि अघि बढ्ने भएका छन् ।



कागजपत्र |
