
सगरमाथा आरोहणका लागि नेपालले जारी गर्यो हालसम्मकै सर्वाधिक ४९२ अनुमति
काठमाडौं- चीनले तिब्बततर्फबाट हुने सगरमाथा आरोहण यस सिजनका लागि बन्द गरेपछि सर्वोच्च शिखर आरोहणका लागि नेपालतर्फ आउने विदेशी आरोहीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ । यससँगै नेपालले यस वसन्तयाममा सगरमाथा आरोहणका लागि हालसम्मकै सर्वाधिक ४९२ वटा अनुमति जारी गरेको छ ।
अभियान सञ्चालकहरूका अनुसार तिब्बती मार्ग बन्द भएपछि आरोहीहरूको मुख्य रोजाइ नेपाल बनेको हो । यसअघि सन् २०२३ को वसन्त याममा ४७८ वटा आरोहण अनुमति जारी गरिएको थियो ।
पर्यटन विभागका अनुसार यस वर्ष ५५ देशका आरोहीहरूले नेपालतर्फबाट सगरमाथा आरोहण अनुमति प्राप्त गरेका छन् । अनुमति लिनेमध्ये सबैभन्दा बढी १०९ जना चिनियाँ नागरिक रहेका छन् । त्यसपछि अमेरिकाका ७६ र भारतका ६१ जना आरोही छन् ।
त्यसैगरी बेलायतबाट ३२, रुसबाट १८ तथा अस्ट्रेलियाबाट १५ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ ।
सन् २०२४ मा सगरमाथा आरोहण अनुमति संख्या घटेर ४२२ पुगेको थियो भने गत वर्ष ४६८ अनुमति जारी गरिएको थियो । यस वर्ष भने अनुमति संख्या पुनः बढ्दै नयाँ कीर्तिमान कायम भएको हो ।
यद्यपि, शिखरतर्फको मार्ग ढिलो खुल्नु र आरोहीहरूको अत्यधिक चापका कारण मौसम अनुकूल हुने छोटो अवधिमा सगरमाथाको साँघुरो भागमा भीडभाड बढ्ने चिन्ता समेत व्यक्त गरिएको छ ।
खुम्बु आइसफल क्षेत्रमा करिब ३० मिटर अग्लो विशाल बरफको ढिस्को खसेर मार्ग अवरुद्ध भएपछि शिखरतर्फ डोरी टाँग्ने काम ढिलो भएको थियो । यसले पहिलो आधारशिविरसम्मको बाटो खुलाउन पनि असर पारेको बताइएको छ ।
गत वर्ष मे ८ भित्रै शिखरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको थियो र मे ९ देखि आरोहीहरूले शिखर चुम्ने प्रयास थालेका थिए । तर यस वर्ष डोरी टाँग्ने टोली शनिबार मात्रै साउथ कोल पुगेको इम्याजिन नेपाल नामक अभियान कम्पनीले जनाएको छ ।
नेपाल एक्सपिडिसन अपरेटर्स एसोसिएसन (ईओएएन) ले यस वसन्तयाममा सगरमाथा र ल्होत्से हिमालमा डोरी टाँग्ने जिम्मेवारी ८ के एक्सपिडिसन्सलाई दिएको छ ।
यसैबीच, सरकारले पर्वतारोहण क्षेत्रबाट हालसम्मकै उच्च राजस्व संकलन गरेको जनाएको छ । पर्यटन विभागका अनुसार यस वसन्तयाममा पर्वतारोहण रोयल्टीमार्फत एक अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यसमध्ये सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब सात करोड रुपैयाँ उठेको विभागले जनाएको छ ।
राजस्व वृद्धि हुनुमा आरोहीहरूको संख्या बढ्नुका साथै सरकारले गत वर्षको सेप्टेम्बरदेखि सगरमाथा आरोहण अनुमति शुल्क ११ हजार अमेरिकी डलरबाट बढाएर १५ हजार डलर पुर्याएको निर्णयलाई मुख्य कारण मानिएको छ ।



कागजपत्र |
