
निर्वाचन आयोगले दलहरूलाई छलफलमा बोलायो
काठमाडौं- निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार गरिएको विधेयकको मस्यौदामाथि छलफल गर्न दलहरूलाई आमन्त्रण गरेको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार भोलि बिहान ११ः३० बजे दलहरूसँग छलफल हुने कार्यक्रम तय गरिएको छ । उनले नयाँ निर्वाचन ऐनसम्बन्धी मस्यौदाबारे विस्तृत छलफल गर्न राजनीतिक दलहरूलाई बोलाइएको जानकारी दिए ।
आयोगले सातवटा ऐनलाई एकीकृत गरी तयार पारेको विधेयकको मस्यौदा २०८० असार १८ गते सरकारलाई पठाएको थियो । उक्त मस्यौदा लामो समय गृह मन्त्रालयमा अड्किएको थियो । पछि केही परिमार्जनको तयारी भए पनि संसद् विघटन भएपछि गृह मन्त्रालयले उक्त फाइल पुनः आयोगमै फिर्ता पठाएको थियो ।
आयोगले यसअघि नै मस्यौदामाथि सुझाव संकलनका लागि यही वैशाख १५ गते राजनीतिक दलहरूलाई पत्राचार गरिसकेको थियो । अब सोही मस्यौदामाथि विस्तृत छलफल अघि बढाइने भएको छ ।



कागजपत्र |
