
महिना दिन नपुग्दै दुई मन्त्री पदमुक्त
काठमाडौं- सरकार गठन भएको एक महिना नपुग्दै प्रधानमन्त्री वालेन्द्र शाहको क्याबिनेटका दुई मन्त्री बाहिरिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपकुमार शाह पदमुक्त भएका छन् भने गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् ।
शक्तिको दुरुपयोग गर्दै आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियुक्ति गराउन खोजेको आरोप लागेपछि श्रममन्त्री शाह विवादमा तानिएका थिए । त्यसपछि प्रधानमन्त्री शाहले उनलाई चैत २६ गते पदमुक्त गरेका हुन् । शाहको स्थानमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेको छ ।
यसैबीच, मन्त्री नियुक्त भएको २७ दिनमै गृहमन्त्री सुधन गुरुङले पनि पदबाट बाहिरिनुपरेको छ । बिचौलियासँग सेयर कारोबारमा संलग्न रहेको आरोप सार्वजनिक भएपछि चर्को आलोचना खेप्दै आएका गुरुङले नैतिकताको आधार देखाउँदै राजीनामा दिएका हुन् ।
आफ्नो सचिवालयमार्फत सार्वजनिक गरिएको वक्तव्यमा गुरुङले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गरेका छन् । उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठेको आवाजप्रति आफू संवेदनशील रहेको बताएका छन् ।
दीपकुमार शाह मन्त्री बनेको १४ दिनमै पदमुक्त भएका थिए भने गुरुङले २७ दिनपछि पद त्यागेका हुन् । दुवै जना चैत १३ गते मन्त्री नियुक्त भएका थिए ।



कागजपत्र |
