
धनुषामा पूर्व वडाध्यक्ष प्रदीप महतो मृत फेला
धनुषा- धनुषामा एक पूर्व वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन्। सबैला नगरपालिका–१२ का पूर्व वडाध्यक्ष प्रदीप महतो मृत भेटिएको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ। इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक विजय दत्तका अनुसार घटना बुधबार राति करिब ११ बजे गणेशमान चारनाथ नगरपालिका–९ स्थित कमला सिँचाइको पूर्वी नहरस्थित तीन नम्बर पुल नजिकै भएको हो।
प्रहरीका अनुसार घटनास्थलमा १० देखि १२ वटा बियरका बोतलसहित अन्य मदिराजन्य पदार्थका खाली बोतलहरू पनि फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा महतोले समूहमा बसेर मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
यद्यपि, उनको मृत्युको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। प्रहरी निरीक्षक दत्तका अनुसार ठोस निष्कर्षमा पुग्न सकिने अवस्था छैन र पोस्टमार्टम रिपोर्टपछि मात्रै वास्तविक कारण स्पष्ट हुने छ।
घटनास्थलमा महतोसँगै रहेको भनिएको समूह भने हाल फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान गर्ने र खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीको भनाइ छ।
मृतक महतोको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय सबैलाले जानकारी दिएको छ।
महतो २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सबैला नगरपालिका–१२ को वडाध्यक्षमा निर्वाचित भएका थिए।



कागजपत्र |
