

कोरोनाको चपेटामा ओलाङचुङगोला, दैनिक उपभोग्य सामान जुटाउँनै मुस्किल

ताप्लेजुङ – नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोला यतिबेला कोरोनाको चपेटामा परेको छ । कोरोना कहरका कारण नेपाल र चीन जोड्ने नाका ओलाङचुङगोलाको तिप्ताला भञ्ज्याङ सील (बन्द) गरेपछि आम्दानीको श्रोत गुम्दा हिमाली पर्यटकीय उक्त गाउँका वासिन्दाहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
स्थानीय स्तरमा उत्पादित गलैँचा, घ्यू, छुर्पी लगायतका सामग्रीहरुले नेपाली बजारमा खासै भाउ नपाउने र व्यापार पनि निकै कम हुनेगरेको स्थानीयको गुनासो छ । आम्दानीको स्रोत नभएपछि दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरु खरिदको लागि समेत समस्या भएको स्थानीयको भनाइ छ । स्थानीयले चौरी तथा चौंरीका बाछाहरुको तिब्बतमा व्यापार गरेर आम्दानी गर्ने गरेका थिए । तर नाका ठप्प भएपछि त्यो आम्दानी पनि रोकिएको हो ।
कञ्चनजंघा संरक्षण क्षेत्रभित्र विभिन्न जडिबुटी संकलन गरिँदै आएको छ । नियम अनुसार कुड्की, सत्वा, सेतोचीनी, चिराइतो लगायतका जडीबुटी संकलन हुन नसकेको कञ्चजंघा संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष खगेन्द्र फेम्बो (लिम्बू) ले बताए । । यस्तै सामुदायिक बनमार्फत संकलन हुने जडीबुटी कोरोनाका कारण २ वर्षदेखि संकलन हुन सकेका छैनन् । यसले पनि आम्दानीको बाटो रोकेको अध्यक्ष फेम्बोको भनाइ छ ।
पर्यटकीय गाउँ ओलाङचुङगोलाका बासिन्दाहरु ४ सय बर्ष देखि बसोबास गर्दै आएको इतिहास छ । ६४ घर रहेको सो जिल्ला बास्ती सदरमुकामदेखि ३ दिनको पैदल हिँडेर पुग्न सकिन्छ । यस्तै ताप्लेजुङको सबै भन्दा उच्च अर्थात् हिमाली बस्ती याङमाका बासिन्दालाई पनि ठूलो संकट परेको छ । सो क्षेत्रका बासिन्दालाई पनि अहिले कोरोना कहरका कारण चीनसँगको सिमाना बन्द भएसँगै समस्या परेको हो ।

