
काठमाडौंमा अब राति पनि बस चल्ने
काठमाडौं – राजधानीवासीका लागि सुखद खबर—काठमाडौं महानगरपालिकाले अब राति पनि सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । महानगरले साझा यातायातसँग सहकार्य गर्दै आगामी वैशाख १ गतेदेखि दुई प्रमुख रुटमा रात्रिकालीन बस सेवा सुरु गर्न लागेको हो ।
महानगरका अनुसार पहिलो रुट ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म सञ्चालन हुनेछ । यो रुटमा बसले पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल, प्रसुति गृह, नेसनल ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल तथा गंगालाल हृदय केन्द्र जस्ता महत्वपूर्ण स्वास्थ्य संस्थाहरू हुँदै यात्रा गर्नेछ ।
त्यस्तै दोस्रो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन हुनेछ । यस मार्गमा थानकोट, सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै बस सेवा उपलब्ध हुनेछ ।
महानगरले यी दुई रुटमा प्रारम्भिक चरणमा चारवटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । रात्रिकालीन सेवा सुरु भएसँगै राति यात्रा गर्ने सर्वसाधारण, स्वास्थ्यकर्मी तथा आपतकालीन सेवामा खटिनेहरूलाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ ।



कागजपत्र |
