
आन्दोलनकै बीच आफ्नै जवानमाथि किन गरे एसपीले लाठीचार्ज?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा एक गम्भीर दृश्य बाहिर आएको छ।
आन्दोलन नियन्त्रणका लागि खटिएका नेपाल प्रहरीका जवानमाथि नै काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले लाठीचार्ज गरेको दृश्य सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै प्रश्न उठ्न थालेको छ।
सार्वजनिक भिडियो र तस्वीरहरूमा आन्दोलनस्थलमै वरिष्ठ अधिकृतले आफ्नै मातहतका प्रहरी जवानमाथि लाठी प्रहार गरेको देखिन्छ। तर, उक्त जवानले के गल्ती गरेका थिए ? किन यस्तो कदम चालियो ? र त्यसबारे आधिकारिक स्पष्टीकरण भने आएको छैन ।
यदि कुनै प्रहरी जवानबाट ड्युटीका क्रममा कमजोरी वा आदेश उल्लंघन भएको थियो भने त्यसका लागि संगठनभित्र स्पष्ट कानुनी प्रक्रिया, स्पष्टीकरण, विभागीय कारबाही र सचेत गराउने संयन्त्रहरू विद्यमान छन्। तर, आन्दोलनकै बीच सार्वजनिक रूपमा आफ्नै जवानमाथि लाठीचार्ज गर्नु संगठनात्मक अनुशासन र मनोबल दुवै दृष्टिले गम्भीर विषयका रूपमा हेरिएको छ।
प्रहरी स्रोतहरूका अनुसार यस्ता घटनाले फिल्डमा खटिएका अन्य जवानहरूको मनोबल कमजोर पार्ने, नेतृत्वप्रति विश्वास घटाउने र आदेश प्रणालीमै नकारात्मक असर पार्ने सम्भावना रहन्छ।
यही कारण अहिले प्रश्न उठेको छ- प्रहरी संगठनको अनुशासन केवल तल्लो तहका जवानका लागि मात्र होइन, नेतृत्व तहका अधिकृतका लागि पनि समान रूपमा लागू हुनुपर्ने आवाज उठ्न थालेको छ। घटनाबारे निष्पक्ष छानबिन गरी जिम्मेवार अधिकारीमाथि आवश्यक कारबाही हुनुपर्ने माग बढ्दो रूपमा उठिरहेको छ।



कागजपत्र |
