
ओली–लेखक एउटै मन्त्रीमण्डल र दुःखद् संयोग !
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र उनैको क्याबिनेटका गृहमन्त्री रमेश लेखकबीच दुःखद् संयोग जुटेको छ ।
उनीहरु दुवैजना सरकारमा रहेको अवस्थामा गत भदौ २३ र २४ गतेको जेन्जी प्रदर्शनका कारण मुलुकमा ठूलो परिवर्तन आयो ।
पहिलो दिनको प्रदर्शनपछि नै नैतिकताको आधारमा तत्कालिन गृहमन्त्री रमेश लेखकले राजीनामा दिए पनि प्रधानमन्त्री ओलीले भने राजीनामा दिएनन् । अन्ततः २४ गतेको प्रदर्शनपछि भएको आगजनीपछि बल्ल उनले राजीनामा दिए ।
जेनजी आन्दोलनका अन्य सरकारी र राजनीतिक व्यक्तिहरुका निजी सम्पत्तिसँगै उनीहरु दुवैजनाको पनि निवासमा आगजनी भयो ।
सो पछि लेखकले मातृवियोगको सामना गर्नु पर्यो भने ओलीले हालैमात्र पितृवियोग खेप्नु पर्यो । दुवैजना यतिबेला आशौच (सेतो कपडा)मा रहेका बेला एकैदिन पक्राउ परेका छन् ।
उनीहरुलाई नवनियुक्त गृहमन्त्री सुधन गुरुङको पदबहालीको दोस्रो दिन बिहानै भक्तपुरबाटै पक्राउ गरिएको छ । रमेश लेखक आफ्नो तत्कालिन निवास नैकाप आगजनी ध्वस्त भएर भक्तपुरको कटुन्जेमा बस्दै आएका थिए भने केपी ओली बालकोटको निवास ध्वस्त भएपछि गुण्डुमा बसोबास गर्दै आएका थिए ।
यतिबेला उनीहरु दुवैजनालाई काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ । आज शनिबार भएका कारण अदालत बन्द भएका हुनाले म्याद थपका लागि उनीहरुलाई भोलीमात्र अदालतमा उपस्थित गराइनेछ ।



कागजपत्र |
