निर्वाचन परिणाम जादुमय: ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामलाई अनपेक्षित, अस्वाभाविक र अपत्यारिलो भएको टिप्पणी गरेका छन्। उनले परिणामलाई “जादुमय” समेत भएको उल्लेख गर्दै यसबारे धेरै टिप्पणी गर्ने समय अझै नभएको बताए।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सांसदहरूलाई पार्टी सानो भएको भन्दै चिन्तित नहुन सुझाव दिए। उनले निर्वाचनमा एमालेविरुद्ध केन्द्रित रूपमा प्रहार भएको दाबी गर्दै केही शक्तिहरूले व्यापक सहयोग पाएको संकेत गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै ओलीले विपक्षीहरूलाई विभिन्न तहबाट सहयोग प्राप्त भएको टिप्पणी गरे। उनले निर्वाचनका क्रममा असभ्य, अश्लील भाषा, गालीगलौज र कुप्रचार व्यापक रूपमा भएको बताए।

‘हाम्रो सभ्य शैलीले त्यसको प्रतिवाद गर्न सकेन,’ ओलीले भने, ‘यस्ता गतिविधिको कसरी सामना गर्ने भन्ने अन्योलका कारण हामी केही हदसम्म मौन रह्यौं। सामाजिक सञ्जालमा पनि प्रभावकारी रूपमा प्रस्तुत हुन सकेनौं।’

ओलीले महाभारतको प्रसंग जोड्दै ठूलो शक्ति सधैं विजयी नहुने उल्लेख गरे। ‘कौरवको सेना ठूलो थियो, पाण्डव साना थिए, तर अन्ततः सत्यको जित भयो,’ उनले भने, ‘हामी पनि सत्यको पक्षमा छौं र राष्ट्रिय गौरवको झण्डा उचाल्ने काममा लागिरहेका छौं।’

प्रतिक्रिया