कपिलवस्तुमा साम्प्रदायिक तनावपछि अनिश्चितकालीन निषेधाज्ञा


बुटवल – कपिलवस्तुको महाराजगञ्जस्थित बर्गदवामा दुई समुदायबीच उत्पन्न तनावपछि जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

आज बिहान मन्दिरमा भजनका क्रममा भएको तोडफोडको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायका युवाबीच विवाद बढ्दै गएपछि सम्भावित झडप रोक्न प्रशासनले कडा कदम चालेको हो। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि भेला, सभा तथा जुलुसमा पूर्ण प्रतिबन्ध लगाएको छ।

प्रशासनका अनुसार निषेधाज्ञा पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म लागू गरिएको छ।

राम नवमी र इदका अवसरमा मन्दिर र मस्जिदमा भइरहेका धार्मिक कार्यक्रमका क्रममा माइकको आवाज चर्को भएको विषयलाई लिएर विवाद चर्किएको थियो। झडपका क्रममा ढुंगा प्रहार हुँदा ५ जना सामान्य घाइते भएका छन्।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार निषेधाज्ञा लागू भएसँगै अहिले अवस्था नियन्त्रणमा आएको छ।

प्रतिक्रिया