
१६ भोट ल्याउनले उम्मेदवारले थकाइ मार्न खुवाए ४५ हजारको रक्सी मासु
कैलाली- प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएसँगै उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाउन थालेका छन् । अधिकांश उम्मेदवारले आयोगले तोकेको सीमाभन्दा निकै कम खर्च देखाएको विवरण पेश गरेपछि वास्तविक खर्च लुकाइएको हुनसक्ने आरोप पनि उठ्न थालेको छ ।
तर कैलाली क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेदवारले भने फरक शैलीको खर्च विवरण सार्वजनिक गरेका छन्, जसले चर्चा पाएको छ।
कैलाली–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका तथा ‘क्यामेरा’ चुनाव चिन्ह पाएका दीपक रावलले कुल खसेको ५६ हजार ७७० मतमध्ये मात्र १६ मत प्राप्त गरेका थिए। यद्यपि उनले निर्वाचनमा कुल दुई लाख ३६ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन्।
रावलले सार्वजनिक गरेको खर्च विवरणमा ‘थकाइ मेटान’ शीर्षकसमेत समावेश गरिएको छ। उक्त शीर्षकअन्तर्गत ८८४८, भोड्का र स्थानीय रक्सीमा ४५ हजार पाँच सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। उनले चुनावी प्रचारका क्रममा १५ दिनसम्म ‘थकाइ मेटान’ गरिएको विवरणमा उल्लेख गरेका छन्।
त्यसैगरी उनले मनोनयन दर्ता दस्तुरमा १० हजार रुपैयाँ, सवारी साधन तथा इन्धनमा ५५ हजार रुपैयाँ, घरदैलो अभियानका क्रममा खाना र खाजामा ४५ हजार पाँच सय रुपैयाँ खर्च भएको बताएका छन्।
यसैगरी झण्डा, ब्याच, ब्यानर तथा स्टिकर छपाइमा ३५ हजार रुपैयाँ, मिडिया खर्चमा २५ हजार पाँच सय रुपैयाँ तथा पानी, चिया र स्टेशनरीमा २० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
रावलको खर्च विवरणमा ‘थकाइ मेटान’ शीर्षकमा रक्सी खर्च उल्लेख भएपछि सामाजिक सञ्जालमा समेत चर्चा सुरु भएको छ।



कागजपत्र |
