६६ जिल्ला ‘क्लिनस्वीप’ हुँदा ११ जिल्लामा मिश्रित नतिजा, कुन जिल्ला कसले गरे ‘क्लिनस्वीप’?


काठमाडौं – फागुन २१ मा सम्पन्न निर्वाचनको मतगणना सम्पन्न भएको छ । प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनमा रास्वपाले सर्वाधिक १२५ क्षेत्रमा जित हात पारेको छ ।

त्यसपछि नेपाली कांग्रेसले १८ स्थानमा जित हात पार्दा नेकपा एमालेले ९ स्थान, नेपाली कम्युनिष्ट पार्टीले ८ स्थान, श्रम संस्कृति पार्टीले ३ स्थान, राप्रपाले १ स्थान र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन् ।

मुलुकका ७७ जिल्लामध्ये ६६ जिल्ला कुनै न कुनै राजनीतिक दलले ‘क्लिनस्वीप’ गरेका छन् भने ११ जिल्लामा फरक राजनीतिक दलले जित हात पारेका छन् । ती मध्ये सबैभन्दा धेरै अर्थात् ४० जिल्ला रास्वपाले क्लिन स्वीप गरेको छ भने त्यसपछि नेपाली कांग्रेसले ११ जिल्ला ‘क्लिनस्वीप’ गरेको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले ६ जिल्ला ‘क्लिनस्वीप’ गर्दा नेकपा एमालेले ५ जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । पहिलोपटक निर्वाचनमा सहभागी श्रम संस्कृति पार्टीले २ वटा जिल्ला ‘क्लिनस्वीप’ गर्दा राप्रपाले एउटा जिल्ला ‘क्लिनस्वीप’ गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

समानुपातिकको समेत मतगणना सम्पन्न भइसकेको अवस्थामा दुई तिहाईका लागि २ सिट नपुगेको रास्वपाले ७७ मध्ये ४० जिल्ला ‘क्लिनस्वीप’ गरेको छ ।

झापा, मोरङ, ओखलढुंगा, उदयपुर, सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, सिन्धुली, दोलखा, ललितपुर, भक्तपुर, काठमाडौं, काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर, चितवन छन् ।

त्यस्तै लमजुङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, रुपन्देही, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी जिल्ला रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ ।

त्यस्नै नेपाली कांग्रेसले हुम्ला, मुगु, बाजुरा, डोटी, जाजरकोट, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, मुस्ताङ, मनाङ र रसुवा जिल्ला क्लिन स्वीप गरेको छ ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीले कालीकोट, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा, सल्यान र डोल्पा जिल्ला ‘क्लिनस्वीप’ गरेको छ ।

त्यस्तै पहिलोपटक संसदीय निर्वाचनमा सहभागी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले खोटाङ र भोजपुर जिल्ला ‘क्लिनस्वीप’ गरेको छ ।

एकमात्र क्षेत्र रहेको जुम्लामा भने राप्रपाका ज्ञानेन्द्र शाहीले ‘क्लिनस्वीप’ गरेका छन् ।

त्यस्तै म्याग्दीमा भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् ।

बाँकी ११ जिल्लामा भने दुई राजनीतिक दलले जित हात पारेका छन् । तिनीहरुमा अछाम, दैलेख, बाँके र इलाममा कांग्रेस र एमालेका उम्मेदवार विजयी भएका छन् भने सुर्खेत, कपिलवस्तु, पाल्पा र रौतहटमा कांग्रेस र रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोक र धनुषामा रास्वपा र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका छन् भने सुनसरीमा श्रम संस्कृति पार्टी र रास्वपाका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया